स्वास्थ्य नीति लागू गराएरै छाड्ने मन्त्री बस्नेत प्रतिवद्ता

होमल्याण्ड खबर

२०८० श्रावण १५ गते, सोमबार १६:५२ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उनले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताए ।

“यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी यसमा प्रयासरत छौँ”, मन्त्री बस्नेतले भने । स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम बाँकी रहेकाले आफु उक्त काममा दृढतापूर्वक लागेको उनको भनाइ थियो । “कर्मचारी दूर्गम जान नमान्ने, शक्तिको आडमा राजधानी र छेउछाउका जिल्ला मात्रै बस्न खोज्ने प्रवृत्तिलाई निमर्मताका साथ परास्त गरेको छु, अहिले चिकित्सकलगायत स्वास्थ्यकर्मी सरुवा र बढुवाका लागि मन्त्रालय धाउन छाडिसकेका छन्, अन्य विकृति हटाउन पहल गर्छु”, मन्त्री बस्नेतले भने ।

चिकित्सकलाई तनावमुक्त भएर उपचार सेवामा लाग्न उनले आग्रह गरे । मन्त्री बस्नेतले हालैको अनुगमनबाट राजधानीका अधिकांश फार्मेसी बिना स्वीकृति, बिना अध्ययन र बिना अनुभवीद्वारा सञ्चालनमा आएको तथा फार्मेसिष्टभन्दा दोब्बर फार्मेसी सञ्चालनमा आएको देखिएको उल्लेख गर्दै एक सय फार्मेसी अनुमगन गर्दा एउटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको जानकारी दिए।