सदन चल्न नदिने एमालेकाे अडान कायमै

होमल्याण्ड खबर

२०८० श्रावण १६ गते, मंगलवार १४:२२ मा प्रकाशित

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाएसम्म अवराेध कायम राख्ने भएकाे छ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौलाका अनुसार  मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठकको तयारीका लागि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमालेले उक्त अडान कायम राखेको हाे  ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको  क्वीन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।

सो प्रकरणमा गृहमन्त्री, अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।

यसअघि लगातार दुई वटा वैठक एमालेको अवरोधका कारण अघि बढ्न सकेनन् ।