कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा

होमल्याण्ड खबर

२०८० श्रावण १६ गते, मंगलवार १६:१५ मा प्रकाशित

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र शेरबहादूर देउवाको दबाब थेग्न नसकेपछि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । मंगलबार गौतमले उपसभामुख सिर्जना दनुवारलाई इमेलमार्फत राजीनामा दिएका हुन्।

गौतम तत्कालिन प्रदेश नम्बर १ को सभामुखमा गत पुस २८ गते प्रदेश सभाबाट निर्विरोध निर्वाचित भएका थिए ।

गत असार २१ गते नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई समर्थन गरेपछि तिब्र आलोचनाको सिकार भएका गौतम सर्वोच्चले आफ्नो कदम असंवैधानिक ठहर गरेपछि दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आइरहेका थिए । तर नयाँ सरकारमा दाबी गर्न बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनले उनलाई राजीनमा गराएर आजै मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ ।

कुनैपनि हालतमा राजीनामा नदिने अड्डी कसेका गौतमलाई केन्द्रीय नेतृत्वले बारम्बार राजीनामा दिन दबाब दिएपछि बाध्य भएर राजीनामा दिएको जनाइएको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९,सभामुखसहित माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।