माओवादी केन्द्रीय समिति बैठक : आज तेस्रो दिन पनि नेताहरुले धारणा राख्ने

होमल्याण्ड खबर

२०८० श्रावण १९ गते, शुक्रबार ११:०७ मा प्रकाशित

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी रहने छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरु हुनेछ । बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आज पनि आफ्नो धारणा राख्नेछन् ।

अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका छन् । अध्यक्ष दाहालले मौखिक रुपमा प्रस्तुत गरेको प्रतिवेदनको लिखित प्रतिलिपि भने हिजो (बिहीबार) दोस्रो दिनको बैठकसम्म उपलब्ध गराइएको छैन।

पहिलो र दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनीहरुले नेतृत्वको आलोचना गर्दै पार्टी कमजोर बन्दै गएकोप्रति चिन्तासमेत व्यक्त गरेका छन् । पार्टीको विचार र व्यवहार लथालिंग अवस्थामा पुगेकाले जनतामाझ कमजोर बन्दै गएको नेताहरुले धारणा राखेका छन् । अहिलेकै अवस्थामा नेतृत्व अघि बढे माओवादी पार्टी नै सकिने चेतावनी दिँदै उनीहरुले नेतृत्वलाई गल्ती स्वीकार गरेर अघि बढ्न सुझावसमेत दिएका छन् ।

यस्तै, बैठकमा सनु काण्ड र भ्रष्टाचारका विषयमा पनि नेताहरुले आवाज उठाएका छन् । उनीहरुले सुन काण्ड र भ्रष्टाचारमा पार्टीका केही नेताहरुको नाम जोडिएकाले त्यसलाई नेतृत्वले चिरेर जानुपर्र्नेमा जोड दिएका छन् ।

हिजो बिहीबार ५७ जना केन्द्रीय सदस्यले बोलेका थिए भने पहिलो दिन (बुधबार) १८ जनाले धारणा राखेका थिए । बैठकमा बोल्ने सदस्यलाई पाँच मिनेटको समय दिइएको छ ।