१ चैत्र २०८२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आफू निर्वाचित चितवन निर्वाचन क्षेत्र नं.२ मा सञ्चालनमा ल्याएकाे ‘मोबाइल क्लिनिक’ मापदण्ड विपरीत पाइएपछि पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरिएको छ।
लामिछानेले केही दिन अघि महिलालाई निःशुल्क गरिएको ‘ब्लु बस’ र ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए।


तर ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाएर तथा अन्य विशेष सूचना दिने सङ्केतसमेत हटाएर सञ्चालन गर्दा एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका कतिपय प्रावधान विपरीत हुने भएपछि फिर्ता गरिएकाे हाे।
वि.सं. २०६९ मा कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवन (पुरानो मेडिकल कलेज) लाई भारत सरकारले सहयोगस्वरूप उक्त एम्बुलेन्स दिएकाे थियाे।
२०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा दर्ता भएको तर पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०७९ साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको थियाे।
अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।