सिट्ठी बजाएर निर्माण व्यवसायीले गरे विरोध प्रदर्शन

होमल्याण्ड खबर

२०८० श्रावण २२ गते, सोमबार १४:३८ मा प्रकाशित

निर्माण व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका छन्। सरकारले असार मसान्त सकिएर आधा साउन भइसक्दा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

रकम भुक्तान नगरेको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सिट्ठी बजाएर, सेफ्टी हेल्मेटसहित प्रदर्शनसँगै धर्ना दिइएको हो । निर्माण व्यवसायीहरूले नारा लगाउँदै र सिट्ठी बजाएर बानेश्वरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘व्यवहारिक माइल स्टेन खारेज गर’, ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता’, ‘उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर’, ‘खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर’ र ‘निर्माण व्यवसायी एकता जिन्दावाद’ लेखेको प्लेकार्डसमेत प्रदर्शन गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताएका छन्।

महासंघले विभिन्न माग राख्दै केही दिनदेखस आन्दोलन जारी राखेको छ।