२४ बैशाख २०८३, बिहीबार
अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडाैं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जलमग्न भएका हुन्।


भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। उनले भने, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पेट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”
यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडनंकलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।



