तेस्रो टि २० आई खेलमा घरेलु टोली वेस्टइन्डिज भारतसँग ७ विकेटले पाराजित

होमल्याण्ड खबर

२०८० श्रावण २४ गते, बुधबार ११:०३ मा प्रकाशित

शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले तेस्रो टि २० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले हराएको छ । पाँच खेलको सिरिजमा भने वेस्टइन्डिज २–१ ले अघि छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सूर्यकुमार यादवले ४४ बलमा १० चौका र ४ छक्कासहित ८३ रनको योगदान दिए ।

डेब्यू खेल खेलेका ओपनर यशस्वी जैसवाल १ र शुभमन गिल ६ रनमै आउट भएका थिए । चौथो विकेटका लागि सूर्य र तिलक बर्माले ८७ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । तिलक बर्मा ३७ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा नट आउट रहे । हार्दिक पान्ड्या १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे ।

वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोयले २ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । तर उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनमा नटआउट रहेका थिए । ओपनर ब्रेन्डन किंग ४२ बलमा ५ चौका र १ छक्कासहित ४२ रन बनाए ।

वेस्टइन्डिजले बलियो सुरुवातका बाबजुद विशाल योगफलमा पुग्न सकेको थिएन । वेस्टइन्डिजलाई ओपनर कायल मेयर्स र ब्रेन्डन किंगले पहिलो विकेटका लागि ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर अक्षर पटेलको बलमा मेयर्स ठूलो सटको धुनमा अर्शदीप सिंहबाट २५ रनमा क्याच आउट भएका थिए । मेयर्सले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । जोनसन चाल्र्सलाई कुलदीप यादवले १२ रनमा एलबीडब्लू आउट गरे ।

उच्च लयमा रहेका निकोलस पुरन स्पिनर कुलदीप यादवको १५ औं ओभरको पहिलो बलमा २० रनमा स्टम्पिङ आउट भए । पुरन १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सन्जु स्यामसनबाट स्टम्पिङ आउट भएका थिए । त्यसै ओभरको पाँचौं बलमा ब्रेन्डन किंग ४२ रनमा कट एण्ड बोल्ड आउट भएका थिए । किंग र पुरन दुबै एकै ओभरमा आउट भएपछि वेस्टइन्डिजले रनको गति बढाउन सकेको थिएन । शिम्रन हेटमायर ८ बलमा १ चौकासहित ९ रनमा आउट भए । भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले समान एक विकेट लिए । पहिलो खेलमा वेस्टइन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।