५ मंसिर २०८१, बुधबार
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने नाँपजाँचपछिमात्रै टुंगो लगाउने सहमति भएको छ ।
त्यसका लागि बिहीबारबाटै सो क्षेत्रमा मालपोत कार्यालय चाबहिलका प्रतिनिधिसहित, काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका अमिनले नाँपजाँच सुरु गरेका छन् ।
काठमाडौँ महानगरपालिका कुनै सल्लाह नै नगरी सो क्षेत्रमा बिहीबार डोजरसहित पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप नै भएको थियो । खोला आसपासका स्थानीयले आफ्ना भौतिक संरचनामा महानगरले एक्कासी डोजर चलाउन थालेपछि विरोध गरेका थिए ।
‘सात तलेदेखि फैकासम्मको सीमा क्षेत्र आजैबाट नाँपजाँच सुरु भएको छ । नाँपजाँचपछि के गर्ने भन्ने निर्णय गर्ने सहमति भएको छ’, बुढानीलकण्ठका मेयर अधिकारीले रातोपाटीसँग भने । मेयर अधिकारीका अनुसार एक दुई दिनभित्रै नाँपजाँच सकेर कसरी अघि बढ्ने भन्ने टुंगो लाग्नेछ ।