काठमाडौंमा पानीपुरी, चटपटे र खुल्ला दूध बेचबिखनमा रोक लगाउने तयारी

होमल्याण्ड खबर

२०८० श्रावण २८ गते, आईतवार १६:३५ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले बर्खाभरि पानीपुरी, चटपटेलगायत खुला रूपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतवार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले बताए । ‘पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरू झुम्मिने गर्नुभएको छ । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुन सक्छ,ु बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’

खुल्ला रूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने उपप्रमुख सुनिता डंगोलले बताइन् । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन उनले निर्देशन दिइन् ।

बैठकमा यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा। अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड रहेको स्मरण गर्दै यस विपरीतका जार जफत र नष्ट गरिएको बताए । डा। झाका अनुसार काठमाडौँमा १५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन ।