५ मंसिर २०८१, बुधबार
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।
स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए ।
सर्वोच्चबाट ललिता निवासको छानबिन अघि बढाउन आदेश आएको भोलिपल्टै आफू पूर्वनिर्धारित कार्यक्रममा विदेश गएको सन्दर्भमा माधव नेपाल भाग्यो भनेर हल्ला फैलाएको उनको टिप्पणी थियो। उनले आफू जस्तोसुकै चुनौतीको सामना गर्ने प्रकृतिको मान्छे भएकाले फेस गर्ने जिकिर गरेका छन् ।
‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ । कानूनको प्रक्रिया अन्तर्गत सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने थियो । केहीकेही ले त माधव नेपाल भागे लुकेर बसेका छन् । फर्किने हिम्मत छैन । म बोल्दिन चुनौतीको सामना गर्छु । बोलेपछि तह लगाएर बस्छु ‘, उनको प्रष्टीकरण थियो ।