कांग्रेस संसदीय दलकाे बैठक जारी

होमल्याण्ड खबर

२०८० श्रावण २९ गते, सोमबार १२:४६ मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा आजपनि बसेको छ। शुक्रबरदेखि जारी बैठक आज टुंग्याउने तयारी छ ।

समसामयिक राजनीतिक विषय, सांसद सुनिल शर्मा पक्राउ प्रकरणदेखि एक क्विन्टल सुन तस्करीको छानबिनसम्मका कुरा बैठकमा छलफल भइरहेको छ। आइतबारसम्म संसदीय दलको बैठकमा ५४ सांसदले आ-आफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सांसदले बोलेपछि नेतृत्वले जवाफ दिने तय छ ।

बैठकमा सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गठनको पक्षमा पार्टी उभिनुपर्ने भन्दै दबाब बढाइरहेका छन्। प्रमुख प्रतिपक्ष एमालेले उच्चस्तरीय समितिमार्फत् छानबिन हुनुपर्ने अडान राखेर सदन अवरोध गरिरहेका बेला कांग्रेसभित्र पनि उच्चस्तरीय समितिको पक्षमा बलियो मत देखिएको हो ।

आजको बैठकले छलफलमा उठेको विषयलाई समेटेर ठोस धारणा बनाउँदैछ ।

हिजोको बैठकमा सांसद डा। शेखर कोइरालाले सरकारले प्रतिशोधको भावनामा पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको बताएका थिए।

यस्तै सांसद रामहरि खतिवडाले पनि शर्माको पक्राउको विषयलाई लिएर बोलेका थिए। उनले सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद शर्मालाई पक्राउ गरेको दाबी गरेका छन् ।

उनले आफूहरु पनि सरकारमै भएको भएपनि गृहमन्त्रीले तर्साउन खोजेको बताए ।