महरामाथि तत्काल छानबिन होस्ः गगन थापा

होमल्याण्ड खबर

२०८० श्रावण २९ गते, सोमबार १३:३३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीमा राजनीतिक नेतृत्वको संलग्नता भएको दाबी गरेका छन्।

जारी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति आशंका व्यक्ति गरे ।

बैठकमा उनले भने, ‘यो तस्करी सानो मान्छले गर्नसक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन ।’

प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई छानबिनमा सघाउन लगाउनुको सट्टा पार्टी बैठकमा स्पष्ट पार्नु भनेकोप्रति गगनले असन्तुष्टि जनाए। आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई सुन प्रकरणको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्न भनेका थिए ।

उनले भने, ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन । नाम जोडिएपछि छानबिन गरेर टुंगो लगाउनुपर्छ । तुरुन्त छानबिन होस् । क्लियर गर्नुपर्छ । संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै जुनसुकै भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ ।’