२४ बैशाख २०८३, बिहीबार
आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै।
एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए।


माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो। स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए। केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन्।बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौं नागरिक घरबारविहीन बनेका छन्। कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाए।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए।यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्याएको उनले बताए। माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौं मानिस बाढीमा पुरिन सक्ने उनले बताए।
“दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौं, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौं, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,” उनले भने, “एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौं, नत्र सबै बाढीमा परिने रैछ।”
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए। उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन्।तेह्र आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ। आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए। उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी छ। सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको छ।
बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए। मर्धशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनले बताए। उनका अनुसार करिब २०-२५ वटा पशुचौपाया पनि पुरिएको आकलन छ।कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङले बताए ।
बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको र नेपाल सरकारको नीति नियमानुसार राहत दिने पनि उनले बताए । तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्नेछ ।
“अप्रत्यासित घटना भयो, बजारका घर देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्याएका घर पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्यांकन गर्न सक्ने अवस्था छैन, बाढीपीडितलाई अहिले अग्लो स्थानमा सुरक्षितरूपमा राखेका छौं”, अध्यक्ष गुरुङले भने, “यहाँ धेरै कामदार पनि बस्थे, उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ।”
बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आकलन गरिएको छ। मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ। बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।
खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको छ। विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उनले बताए।बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उनले जानकारी दिए। अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन्।
सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, “बाढीले बिजुलीका पोल र पाइप लाइन पनि बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ, विस्तारै यातायात सञ्चालनका लागि प्रयास गर्छौं।”
वर्षा रोकिएको भए पनि कागबेनीवासी कागखोला हेर्दै झस्किने गरेका छन्। प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ।रासस