२४ बैशाख २०८३, बिहीबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिर निकालेको अवस्थामा सिनामंगलबाट बरामद तस्करीको सुन गाल्न सुरु गरिएको छ।
बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।


काठमाडौंको सिनामंगलबाट समातिएको १ सय ५५ किलो ‘ब्रेक शुु सहितको सुन सोमबार छुट्याइएर जोखिएको थियो। सोमबार नेपाल राष्ट्र बैकको बबरमहलस्थित टक्सार महाशाखामा छुट्याएर जोख्दा सुनको तौल ६० किलो ७८९ ग्राम भेटिएको छ ।
पहिले ब्रेक शुसहित जोख्दा १ सय ५५ किलो भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो।
तस्करीको सुन साउन २ गते सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो। १ सय ६० वटा ब्रेक शुसहित जोख्दा पहिले १ सय ५५ किलो तौल भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो। तर, सुन निकालेर जोख्दा करिब ६१ केजी रहेको पाइएको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए। तर, उनको दाबीविपरीत सुनको तौल झण्डै आधा भएको पाइएको छ । सुन गाल्दा अझै तौल घट्न सक्ने बताइएको छ।
सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित तीन कर्मचारी, तीन विदेशी नागरिक र चारजना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एकजनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र भारतीय राहदानीबाहक अर्का एकजनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।
सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानविनको जिम्मा सिआइबीलाई लगाएको थियो । सिआइबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।