५ मंसिर २०८१, बुधबार
सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।
बालुवाटारमा भएको छलफलमा सभामुखले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो गरेको भन्दै घिमिरेले दलीय सहमतिविना सदन अघि बढ्न नसक्ने स्मरण गराए ।
‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइँन भन्नुहुन्छ। दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरता पूर्वक छलफल गरिदिनुहोस्,’ प्रधानमन्त्रीसँग सभामुखले भने।
जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन आफूले भूमिका खेल्ने बताएका छन् । उनले यस विषयमा एमाले नेतृत्वसँग कुरा गर्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’
विमानस्थलबाट साउन २ गते बरामद भएको तस्करीको सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले पटकपटक संसद अवरुद्ध गर्दै आएको छ।