कोशीका मुख्यमन्त्रीविरुद्ध एमाले आज सर्वोच्च जाँदै

होमल्याण्ड खबर

२०८० भाद्र ६ गते, बुधबार १०:४६ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो।

संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेले बताएको छ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा दर्ता गराउने बताए ।

अहिलेको सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको कोशी प्रदेश एमालेले जनाएकाे छ।

तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्‍याएर असार २१ गते कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा एमाले नेता हिक्मतकुमार कार्कीले असार २२ मा दायर रिटमाथि सर्वोच्चको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति रद्द गरेको थियो ।