५ मंसिर २०८१, बुधबार
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीमा मतभेद देखिएको छ।
मङ्गलबार केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका छन् ।
अध्यक्ष नेपालले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने विद्रोहका मुख्य लक्ष्य प्राप्त भएकाले औचित्य पुष्टि भएको दाबी गरेपछि खनालले भने असन्तुष्टि पोखेका छन्।
राजनीतिक प्रतिवेदनमा नेकपा ९एमाले० बाट अलग हुनुको औचित्य पुष्टि भएको माधव नेपालको जिकिर छ ।
संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने विद्रोहका मुख्य लक्ष्य प्राप्त भएकाले औचित्य पुष्टि भएको दाबी नेपालको छ ।
तर, नेता खनालले भने पार्टीमा व्यापक असन्तुष्टि रहेको बताए। नेतृत्वले विद्रोहका राजनीतिक सैद्धान्तिक, वैचारिक, दार्शनिक, सांगठनिक, सांस्कृतिक, विधिगत सबै पक्षबाट विद्रोहको पुष्टि गर्नुपर्नेमा खनालको जोड छ ।
“अहिले विद्रोह भएको २ वर्ष पुग्दा पनि पार्टीमा व्यापक रुपमा विद्रोहको औचित्य सावित भएन भन्ने असन्तुष्टि रही रहेको देखिन्छ,” खनालले बैठकमा भनेका छन्, “हामीले दक्षिणपन्थी अवसरवादका विरुद्ध, गुटवादका विरुद्ध, व्यक्तिवादका विरुद्ध विद्रोह गरेको भन्यौं । तर, त्यो विद्रोहको राजनीतिक सैद्धान्तिक, वैचारिक, दार्शनिक, सांगठनिक, सांस्कृतिक, विधिगत सबै पक्षमा अहिलेसम्म पुष्टि गर्ने काम भएको छैन । त्यस्ता कुनै दस्तावेजहरु नेतृत्वबाट तयार हुन सकेनन् । यो काम नेतृत्व बाहेक अन्तबाट हुन सक्ने काम पनि होइन ।”
पार्टीको मार्गदर्शक सिद्धान्तबारे महाधिवेशन अघि नै टुंग्याएर जानुपर्नेमा नेताहरुको जोड छ। यसअघि बसेको स्थायी कमिटी र पोलिट्ब्यूरो बैठकमा बोलेका नेताहरुले महाधिवेशनमा जानुअघि नै नमिलेका कुराहरु मिलाएर जानुपर्ने बताएका थिए ।
जबज मान्ने कि नमान्ने भन्ने विषयमा पनि एकीकृत समाजावादीमा मतभेद छ। अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा जबजको सान्दर्भिकता रहेको उल्लेख छ ।
“नेपाली विशेषताको समाजवाद लोकतान्त्रिक मूल्य मान्यतासहितको हुनेछ भन्ने मान्यता पनि राखेका छौँ । जबजले केवल राज्यसत्ताको मात्र होइन कम्युनिष्ट आन्दोलन र पार्टीको लोकतान्त्रिकरणको मान्यता पनि राखेको छ । साथैै प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ,” नेपालले भनेका छन्, “यी सबै सन्दर्भमा जबजको सान्दर्भिकता छ । तथापि जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त भने होइन । समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । यसमा हाम्रो पार्टी प्रष्ट छ ।”
नेता खनालले भने बहुदलीय जनवाद भनेको पुँजीवादी प्रणाली भन्दै त्यो कालातीत भइसकेको र त्यसको सान्दर्भिकता नरहेको बताएका छन् ।
“बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद नै हो । त्यसमा कसैले भ्रममा पर्नु जरूरी छैन । बहुदलीय प्रणाली चाहिँ वर्गभन्दा बाहिरको कुरा होइन । त्यो नै पुँजीवादी प्रणाली हो,” खनालको फरक मतमा भनिएको छ, “हामीले हाम्रो देशमा जनवादी क्रान्तिको कालमा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद, जनताको बहुदलीय जनवाद सबै कार्यक्रमहरू आम रूपमा पुँजीवादी जनवादका कार्यक्रमहरू हुन् । ती सबै रूपका कार्यक्रमहरू पुँजीवादी क्रान्ति सम्पन्न भइसकेपछि ऐतिहासिक रूपले नै कालातीत भइसकेका छन् ।”
पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ ।
बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबारदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा बुधवार पनि छलफल जारी छ।