कोशी प्रदेशको चालु अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

होमल्याण्ड खबर

२०८० भाद्र ७ गते, बिहीबार १०:४२ मा प्रकाशित

कोशी प्रदेशको चालु तथा तेस्रो अधिवेशन अन्त्य भएको छ।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले तेस्रो तथा हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।

बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले जारी अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङ्ले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

असार १४ गते सुरू भएको तेस्रो अधिवेशन पाँचवटा बैठक बसेर अन्त्य भएको छ ।

प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुनः अध्यादेशबाट बजेट ल्याउनका लागि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

गत जेठ ३२ गते कार्कीले ल्याएको बजेट अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो। सो अध्यादेश भदौ १० पछि निष्क्रिय हुँदैछ। बिहीबारै उक्त अध्यादेशबाट ल्याएको बजेट खारेज गरी अध्यादेशबाटै नयाँ बजेट ल्याउने तयारी सरकारको छ ।