राजसंस्था पुनर्स्थापनाकै एजेण्डामा फर्किए कमल थापा, तेस्रो जनआन्दोलन गर्ने (कार्यपत्रसहित)

होमल्याण्ड खबर

२०८० भाद्र ८ गते, शुक्रबार १४:२३ मा प्रकाशित

कमल थापा नेतृत्वको राप्रपा नेपाल राजसंस्था पुनः स्थापनाकाे एजेण्डामै फर्कने भएकाे छ।

पार्टीको जारी केन्द्रीय समिति वैठकले आज यस विषयमा औपचारिक निर्णय लिएर घाेषणा गर्ने तयारी गरेकाे हाे।

पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन्।

‘राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेण्डामध्ये एक हुनेछ,’ उनले भनेका छन् ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने समेत थापाले बताए । उनले यसलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा दिएका छन् ।

थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्ति अपील समेत गरेका छन्। थापाको उक्त कार्यपत्र आजको बैठकले पारित गरेपछि दिउँसो २ बजे घोषणासभा राखिएको पार्टी प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए।

राजसंस्था पुन:स्थापनको एजेण्डा परित्याग गरेर गणतन्त्रलाई स्वीकार गर्ने निर्णय लिँदा गएको चुनावमा निराशाजनक परिणाम प्राप्त भएको विश्लेषण पार्टीभित्र गरिएको छ।

राजसंस्था सम्बन्धी धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्रा.डा विष्णु भण्डारीको संयोजकत्वमा कार्यदल बनेकाे थियाे।