५ मंसिर २०८१, बुधबार
ललिता निवास प्रकरणको मुद्दामा आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको कीर्ते प्रकरणमा सोमबारदेखि बहस सुरु भएको हो।
न्यायाधीश भोलानाथ ढकालको इजलासमा उनीहरुको बयान हुने र बयानपछि थुनछेक हुने जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।
आइतबार पूर्वमन्त्रीहरु विजयकुमार गच्छादार,चन्द्रदेव जोशी, डम्बर चेम्जोङ र बहालवाला सचिव कृष्णबहादुर राउतसहित २ सय ९० जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दर्ता भएको थियो।
सरकारी वकिलको कार्यालयले अभियोगपत्रसँगै १८ जनालाई अदालत पेस गरेको छ। बयानपछि उनीहरुको थुनछेक सुरु हुनेछ। करिब एक सातामा बयान सकेर थुनछेक गराउने जिल्ला अदालतको तयारी छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५७ दिनसम्म ‘संगठित कीर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर ललिता निवासमा ‘संगठित कसुर’ आकर्षित नहुने भन्दै सरकारी वकिलले ‘लिखत कीर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।
बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ। सीआईबीले पूर्व उप(प्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो। प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ।