ललिता निवास प्रकरण : आज पनि बयान जारी रहने

होमल्याण्ड खबर

२०८० भाद्र १२ गते, मंगलवार १०:५१ मा प्रकाशित

ललिता निवास जग्गा प्रकरणकाे मुद्दामा आज पनि जिल्ला अदालत काठमाडाैंमा बयान जारी रहने भएकाे छ।

यस प्रकरणमा थुनिएका १८ जना प्रतिवादीहरूकाे बयान आज पनि जारी रहने भएको हाे।

आइतबार पूर्वमन्त्रीहरु विजयकुमार गच्छादार,चन्द्रदेव जोशी, डम्बर चेम्जोङ र बहालवाला सचिव कृष्णबहादुर राउतसहित २ सय ९० जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दर्ता भएको थियो।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा इजलास अधिकृतले लिएका थिए । आज एकपटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५७ दिनसम्म ‘संगठित कीर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो ।

तर ललिता निवासमा ‘संगठित कसुर’ आकर्षित नहुने भन्दै सरकारी वकिलले ‘लिखत कीर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ।