५ मंसिर २०८१, बुधबार
नेकपा (एमाले)का अध्यक्ष शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन्।
केन्द्रीय सचिवालयको बैठकमा सहभागी हुन सिरहाकाे सर्रे अम्बासतर्फ जाने क्रममा बुधवार बिहान विराटनगर पुगेका अध्यक्ष ओलीले सञ्चारकमीहरूसँगकाे कुराकानीमा यस्ताे आरोप लगाएका हुन्।
उनले तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई ढाँटेको बताए।
उनले प्रधानमन्त्री तथा मन्त्रीको नाम भने लिएनन् । एमसीसी सांसदबाट पास गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो,’ विराटनगर विमानस्थलमा सञ्चारकमीहरूसँग ओलीले भने, ‘पहिला नै पास गर्दा ठीक हुन्छ/हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’
१२ बुँदे घोषणा नै झुटको खेती भएको समेत उनको आरोप रहेको छ । ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ । सोध्नु किन पर्यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ । उहिले नै भनेको छ यो सम्झौता हो । योभन्दा आरोप केही पनि हुँदैन । कसका के कति बुँदे घोषणा हामीलाई कुनै सराेकार छैन। हामी जान्दैनौं उसैबेला भनेको छ । उहाँले सोध्ने पनि होइन,’उनले भने ।
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताएका थिए ।