५ मंसिर २०८१, बुधबार
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन्। बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन्।
उनले समितिमा आउने विधेयकहरुलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए। उनले समितिहरुले गतिका साथ काम गर्नुपर्ने पनि बताए।
बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकबारे जानकारी दिँदै उनले भने, ‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने। सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने। र समितिहरुलाई प्रभावकारी ढंगबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो। खासगरी आएका विधेयकहरु समितिमा गएका छन्। अब आउने विधेयकहरु पनि समितिमै जान्छन्। समितिमा सरोकारवालाहरुसँग आवश्यकताअनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने। र सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभुत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडी बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो। उहाँहरुले त्यसलाई एकदम ठिक भयो। यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो।’
अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए। उनले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए।
त्यसैगरी, बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताउनु बताइन्।
उनले पनि समितिको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषय नै सभामुखले राखेको जानकारी गराइन्।
उनले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोहीअनुरूप गम्भीरतापूर्वक समितिका काम, कारबाही अगाडी बढाउन सभामुखले निर्देशन दिएको उल्लेख गरिन्।