पाकिस्तानले नेपाललाई दियाे ३४३ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८० भाद्र १३ गते, बुधबार १९:१४ मा प्रकाशित

कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले दबाबमा राखेका थिए ।

पाकिस्तानका कप्तान बाबर आजमले १५१ र इफ्तिखर अहमदले १०९ रन बनाए । उनीहरुले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरेका थिए । १२४ रनमा ४ विकेट गुमाएको अवस्थामा बाबर र इफ्तिखरबीच साझेदारी सुरु भएको थियो ।

सुरुको १० ओभरमा ४४ रन जोडेको पाकिस्तानले अन्तिम १० ओभरमा १२९ रन जोडेको थियो । २५ रनमा २ विकेट गुमाएको पाकिस्तानलाई कप्तान आजमले मोहम्मद रिजवान र इफ्तिखर अहमदसँग गतिलो साझेदारी गर्दै सम्हालेका हुन् । उनले रिजवानसँग चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।
पाकिस्तानका फकार जमान १४, आघा सलमान ५, इमाम उल हक ५ र मोहम्मद रिजवान ४४ रन बनाएर आउट भए ।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एकएक विकेट लिए । पाकिस्तानका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।