थाईल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

होमल्याण्ड खबर

२०८० भाद्र २२ गते, शुक्रबार ११:०६ मा प्रकाशित

आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा फाइनल पुग्दै ग्लोबल छनोट खेल्ने नेपालको सपना अधुरै भएको छ ।

नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएकाे हाे।

समूह चरणका उप विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले थाइल्याण्डको चुनौतीलाई भने पार गर्न असफल भयो । थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य नेपालले पूरा गर्न असफल हुँदा फाइनलमा स्थान बनाउन सकेन भने अर्को बर्ष हुने ग्लोबल छनोटबाट पनि बाहिरिएको छ । नेपालले १९.३ ओभरमा ५९ रनमात्रै बनाउन सक्याे ।

जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो ।

नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए ।

आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ।

प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।