प्रधानमन्त्रीले बोलाए श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखको बैठक

होमल्याण्ड खबर

२०८० भाद्र २५ गते, सोमबार १०:४४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्।

उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गरेका हुन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सो बैठकको अध्यक्षता स्वयंम प्रधानमन्त्री दाहालले गर्नेछन्। श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ।

वैदेशिक श्रम स्वीकृति देखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम सो बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

सो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागीता रहने जनाइएको छ।

बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानूनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुँदैछ। बैठक भोलि र पर्सी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।