५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि अपिल गर्ने भएका छन्।
सोमबार समाजवादी मोर्चाले विराटनगरमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने बताए।
‘नेपालको शान्ति प्रक्रिया विशिष्ट प्रकारको छ। राष्ट्रसंघमार्फत यसमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्छ भन्नेछु,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले आफूले तेस्रो कार्यकाल एक्सनबाट जनतालाई डेलिभरी दिने काम गर्ने बताए। उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ललितानिवास, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका दोषीमाथि कारबाही गर्ने बताए। उनले सरकारलाई सफल बनाउन समाजवादी मोर्चाका नेताहरूको समेत साथ पाएको बताए।
‘कति दिन टिक्छ मलाई चिन्ता छैन। सरकारले बेथितिविरुद्ध संघर्ष सुरु गरेको छ। यसलाई अन्त्यसम्म पुर्याउनुपर्छ,’ उनले भने, ‘विप्लवले पनि सरकारमा अगाडि बढ्नुस। हिजोको कमाण्डर राष्ट्रियताका पक्षमा अगाडि बढ्नुस् हामी सडकबाट साथ दिन्छौँ भन्नुभएको छ। हामी सातवटा प्रदेशमा गएका छौँ मलाई ऊर्जा प्राप्त भएको छ।’