नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

होमल्याण्ड खबर

२०८० भाद्र २८ गते, बिहीबार १०:३६ मा प्रकाशित

संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अत्येष्टि गरिन लागेको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ ।

यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो ।

सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा पुर्याइएको थियो । जहाँ प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

आर्यघाटमा अत्येष्टिका लागि बालुवाटारस्थित निवासबाट लाने क्रममा शवयात्राको रुट पनि तय गरिएको छ ।

एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै रुट तय भएको बताएका छन् । शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले भनेको छ ।

नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट लैजाने गरि तय गरिएको छ ।