नेम्वाङप्रति प्रधानमन्त्री दाहाल सहित शीर्ष नेताहरुले दिए अन्तिम श्रद्धाञ्जली

होमल्याण्ड खबर

२०८० भाद्र २८ गते, बिहीबार १३:२७ मा प्रकाशित

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम श्रद्धाञ्जली दिएका छन् । पशुपति आर्यघाटमा अन्त्येष्टिअघि नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

प्रधानमन्त्रीभन्दा अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिए । सयपत्री फूलका मालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । आर्घाटमा सुरुमा परिवारका सदस्यहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए ।

यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन, पूर्वसभामुख अग्नि सापकोटा, एमाले महासचिव शंकर पोखरेललगायत विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

यसअघि बालुवाटारस्थित निवासबाट आर्यघाटसम्म शवयात्रा गरिएको थियो । नेम्वाङको अन्त्येष्टिमा आर्यघाट पुगेका हजारौं नेता कार्यकर्ता एवं सर्वसाधारण मानिसहरुले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सरकारले नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मानका साथै सार्वजनिक बिदा दिएको छ ।

सोमबार मध्यराति नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो । यसअघि मंगलबार दिनभर र बुधबार (हिजो) दिउँसो १ बजेसम्म नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो । दिउँसो १ बजेपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको थियो ।