‘एचपीभी’ खोप अभियानको समय थप, शुक्रबारसम्म जारी रहने

होमल्याण्ड खबर

२०८० आश्विन २ गते, मंगलवार १२:३६ मा प्रकाशित

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ ।

खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनले भने, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’

गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको भनाइ छ । उनका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएका छन् ।

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि ‘एचपीभी’ खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।