५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गरेका हुन् ।
उनले नेपालमा लगानीको वातावण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरुको शीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताए। प्रधानमन्त्रीले वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्वृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको दावी समेत गरे । विदेशमा रहेका नेपालीहरुप्रतिको सोंचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री दाहालले एनआरएनहरु पलायन नभई विस्तारित भएको तर्क गरेका छन् ।
गैरआवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनीहरुले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले बिहिवार संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।