यतिकाे विमान दुर्घटना : जाँचबुझ आयोगले बुझायो अन्तिम प्रतिवेदन

होमल्याण्ड खबर

२०८० आश्विन ५ गते, शुक्रबार ११:२८ मा प्रकाशित

काठमाडाैं। आठ महिनाअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनाकाे छानबिन गर्न गठित जाँचबुझ आयोगले अन्तिम प्रतिवेदनको मस्यौदा सरकारलाई बुझाएकाे छ।

उक्त अन्तिम मस्याैदा आयोगका अध्यक्ष नागेन्द्रप्रसाद घिमिरेले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई  बुझाएका हुन् ।

१ माघमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यतीको एन–एएनसी कलसाइन नम्बरको जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । दुर्घटना छानबिन गर्न ४५ दिनको समय दिएर गठित आयोगले सात महिना लगाएर अध्ययन प्रतिवेदनको अन्तिम मस्यौदा बुझाएको हो । आयोगले  दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन सम्बन्धित निकायहरूले कार्यान्वयन गर्नुपर्ने सुझावहरूसहितको अन्तिम प्रतिवेदनको मस्यौदा बुझाएको मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डबमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक तथा निकायलाई उक्त मस्यौदा प्रतिवेदन राय सुझावका लागि पठाइने र प्रतिक्रिया प्राप्त भएपश्चात् सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि प्रतिवेदन सार्वजनिक गरिने पर्यटन मन्त्रालयले जनाएको छ । प्रतिवेदनको अन्तिम मस्यौदा आइकाओसहित क्यानडा, सिंगापुर, अमेरिका, फ्रान्समा राय–सुझावका लागि पठाइन्छ । यसअघि बुझाइएको प्रारम्भिक रिपोर्टसँग करिब मिल्ने गरी अन्तिम रिपोर्ट आएको बताइएकाे छ।