बाल सुधार गृहबाट भागेका ९ जना अझै सम्पर्कविहीन

होमल्याण्ड खबर

२०८० आश्विन ५ गते, शुक्रबार १३:१९ मा प्रकाशित

बाँकेको डडुवा गाउँपालिका.६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।

गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

उनका अनुसार, बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी डाँगीले बताए । डाँगी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।