यात्रुलाई मुगुमा अलपत्र पारेर माओवादी नेता लिएर नेपालगञ्ज उड्यो समिट एयरकाे जहाज

होमल्याण्ड खबर

२०८० आश्विन ९ गते, मंगलवार ११:०३ मा प्रकाशित

समिट एयरलायन्सको जहाजले ‘भीआईपी यात्रु’को दबाबमा अग्रिम टिकट बुकिङ गरेका १६ जना चिकित्सकलाई मुगु विमानस्थलमै छोडेर नेपालगञ्ज उडेको छ। ​

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली आएपछि अग्रिम टिकट बुकिङ गरेका चिकित्सकहरू छोडेर समिटको जहाज नेपालगञ्ज उडेको डा. सुरज बज्राचार्यले जानकारी दिए ।

आफूहरूलाई मुगुको ताल्चा विमानस्थलमा छोडेर जहाज नेपालगञ्ज उडेको उनले बताए।

जहाजमा माओवादी नेताहरू पूर्वमुख्यमन्त्री शाहीसहित माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका यादव, विमला केसी, धर्म शाही र प्रकाशबहादुर शाही नेपालगन्ज उठेका छन् ।

तर, अग्रिम टिकट लिएका उनीहरूलाई भने विमानस्थलमै छोडिएको छ । भिआईपीहरूको दबाबमा आफूहरूलाई छोडेर जहाज गएको उनले बताए । ‘हामीले जति अनुरोध गर्दा पनि केही चलेन,’ उनले भने,’नेताहरूको दबाबमा उहाँहरूलाई लग्यो । हामीलाई यतै छोडियो ।’

डा. बज्राचार्यसहित व्यापक पौडेल, विमल कुमार पाण्डे, गौरवराज ढकाललगायत १६ जना चिकित्सक विमानस्थलमै अलपत्र परेका छन् । चिकित्सकहरूको टोली मुगुबाट नेपालगन्ज फर्किने तयारीमा थियो ।