५ मंसिर २०८१, बुधबार
सरकारले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिने भएकाे छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हाे।
पुरानो मुल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो । चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि मुल्यवृद्धिकाे निर्णयबाट सरकार पछि हटेकाे हाे ।