हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलमा हमासको आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० आश्विन २० गते, शनिबार २२:१३ मा प्रकाशित

प्यालेस्टाइनी लडाकुले गाजापट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेका र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको शनिबार इजरायली अधिकारीहरूले बताएका छन् ।

इजरायली चिकित्सकले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटनामा दर्जनौँ व्यक्ति घाइते भएका इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘आफूहरू युद्धमा रहेको’ भन्दै कडा प्रतिकारको चेतावनी दिएका छन् । उनले भने, “यो आक्रमणका लागि शत्रुले अनपेक्षित मूल्य चुकाउनुपर्नेछ ।”

गाजापट्टीलाई नियन्त्रण गर्ने इरान समर्थित हमासले एक भिडियो जारी गरेको छ, जसमा उसका लडाकुले सादा पोसाकमा सजिएका तीनजनालाई समातेका छन् । भिडियो क्याप्सनमा ‘शत्रु सैनिक’का रूपमा वर्णन गरिएको छ ।

हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले भनेको छ, “हामीले इजरायलद्वारा कब्जा गरिएका सबै अपराध अन्त्य गर्ने निर्णय गर्‍यौँ । जवाफदेही नबनाई विद्रोह गर्ने उनीहरूको समय सकिएको छ । हामीले ‘अपरेसन अल अक्सा फ्लड’को घोषणा गर्‍यौँ र हामीले २० मिनेटको पहिलो आक्रमणमा पाँच हजारभन्दा बढी रकेट प्रहार गर्‍यौँ ।”

इजरायली सेनाले प्यालेस्टिनी लडाकुसँग गाजापट्टीनजिकका विभिन्न स्थानमा लडिरहेको जनाएको छ । सेनाले प्रतिरक्ष कारबाहीलाई ‘फलामको तरवार’ नाम दिएको छ । सेनाका प्रवक्ता रिचार्ड हेक्टका अनुसार लडाकुले प्याराग्लाइडर, समुद्र र जमिनबाट संयुक्त रूपमा आक्रमण गरेका थिए ।

सामाजिक सञ्जालमा आएका अपुष्ट भिडियोमा सेनाको पोसाक लगाएका कैयौँ व्यक्तिको शव देखिएको छ । राजमार्गमा पनि मृत्यु भएका सवारीचालक र यात्रीको शव देखिएको छ । आफ्नो घरमा आतंककारीले गोली हानेर सुरक्षित कोठाभित्र पस्न खोजेपछि एक महिलाले ‘कृपया सहयोग पठाउनुहोस्’ भनी बिन्ती गरेकी थिइन् ।

सन् २००७ मा हमासले कब्जा जमाएपछि २३ लाख मानिसको बसोबास रहेको गाजामा आतंककारीको घुसपैठ विरलै भएको छ । गाजालाई इजरायलबाट सैन्यीकृत सीमा अवरोधद्वारा बन्द गरिएको छ ।