२३ बैशाख २०८३, बुधबार
सरकारले इजरायलको द्वन्द्वमा परेर मृत्यु भएका नेपालीको शव र घाइतेको उद्धार गर्न जहाज तयारी अवस्थामा राख्ने भएको छ।
सोमबार बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको हो।


बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ। इजरायलमा ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले संसदलाई जानकारी दिएका थिए।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा पदम थापा र सारदा ३ सल्यानका प्रवेश भण्डारी रहेका छन्।