५ मंसिर २०८१, बुधबार
सत्तारुढ दल नेपाली कांग्रेसले कोशी प्रदेशमा गठबन्धनकै सरकार बनाउन पहल गर्ने भएको छ।
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने सहमति भएको हो।
कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने बताइएकाे छ।
प्रधानमन्त्री प्रचण्ड र देउवाको छलफलपछि गठबन्धनको बैठक बस्ने छ । त्यस्तै, प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशीको सत्ता समीकरणबारे छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धनले राप्रपालाई पनि साथमा लिएर सरकार बनाउने प्रयास थालेको हाे।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् । एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् ।
उक्त व्यवस्था अनुसार संसदको कुनै पनि एक सदस्यले आफूले बहुमत पुगेको सिद्ध गर्नुपर्दछ।