८ मंसिर २०८१, शनिबार
मेगा बैंकले ६० दिने अवधिको लागि मुद्दति निक्षेपमा १० प्रतिशत व्याजदर तोकेको छ। माछापुच्छ्रेले पनि ९० दिने अवधिको निक्षेपका लागि त्यति नै व्याजदर दिनेगरी व्यक्तिगत मुद्दति योजना ल्याएको छ। सेन्चुरी कमर्सियल बैंकले अझ माथि पुगेर ११ प्रतिशत व्याजदर दिनेगरी एक वर्षे योजना ल्याएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले चाहेअनुसारको रकम राख्न मिल्नेगरी १० प्रतिशत व्याजदरको वार्षिक योजना ल्याएको छ। मुद्दतिमा मात्रै नभई वाणिज्य बैंकहरुले बचतमा समेत साढे ८ प्रतिशतसम्मको व्याजदर दिन थालेका छन्। सिभिल बैंकले बचत खातामा साढे ८ प्रतिशत व्याजदर दिन थालेको छ।
सिद्धार्थ बैंकले स्वर्णिम बचत खाता र एनसीसीले उत्सव बचत खातामा ८ प्रतिशत व्याजदर दिन थालेका छन्। एनआइसी एसिया बैंकले पनि बचतमा ८ प्रतिशत व्याजदर दिइरहेको छ। व्यक्तिगत मुद्दती तथा बचत योजनामा बैंकहरुबीच यतिबेला व्याजदर बढाउने होडबाजी चलेको छ। ग्राहकबाट निक्षेप आकर्षित गर्नका लागि उच्च व्याजदर तोक्दै बचत तथा विभिन्न अवधिका मुद्दती योजनाहरु ल्याएका छन्। थप लगानीका लागि रकम अभाव भएपछि बैंकहरुले निक्षेपमा उच्च व्याजदर दिनेगरी दिनैपिच्छे सूचना जारी गरिरहेका छन्।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार यतिबेला बैंकहरुमा लगानीयोग्य रकमको अभाव छ। जसले गर्दा बैंकहरुमा उच्च व्याजदर दिने प्रतिस्पर्धा देखिएको हो। समयमै विकास खर्च नहुने परिपाटी रहेकाले यतिबेला लगानीयोग्य रकमको अभाव भएको उनले बताए।
‘विकास खर्च समयमै एकनासले नहुँदा बैंकमा लगानीयोग्य रकमको अभाव हुने गरेको हो, पोहोर पनि यतिबेला यस्तै अवस्था थियो’ सेतोपाटीसितको कुराकानीमा उनले भने ‘जेठ, असारमा मात्रै खर्च हुने हुँदा यतिबेला
बैंकहरुसँग लगानी गर्ने रकम नभएकै हो।’
सरकारी राजश्व रकम खातामै थुप्रिने तर खर्च हुन नसक्दा त्यसले समग्र बैंकिङ क्षेत्रमा असर पर्ने उनले बताए। पुस राजश्व तिर्नुपर्ने महिना भएकाले पनि यतिबेला असर देखिन थालेको दाहालले बताए।
‘राजश्व रकम खर्च नभए पनि तिर्नु त परिहाल्यो, अब फेरि तिर्ने बेला आयो, बैंकबाटै सो रकम जाने हो’ उनले भने। कतिपयले सरकारले सुरुमै आन्तरिक ऋण उठाएकाले तरलतामा चाप परेको व्याख्या गरिरहँदा उनले भने त्यसलाई अस्वीकार गरे।
बैंकहरुले निक्षेपमा मात्रै होइन, माघपछि कर्जामा पनि व्याजदर बढाउने भएका छन्। ‘कस्ट अफ फण्ड हाइ भएपछि स्वभाविक रुपमा त्यसले प्रवाह हुने कर्जामा असर पर्दछ, तेस्रो त्रैमासदेखि कर्जाको व्याजदरमा असर पर्ने छ’ नाम उल्लेख नगर्ने शर्तमा एक बैंकर्सले भने।
बैंकहरुको फण्डमा उच्च लागत पर्दा पहिलो त्रैमासिक वित्तीय विवरणको नाफामा सिधा असर परेको छ। जुन असर दोस्रो त्रैमासमा समेत देखिनेछ।
तर वित्तीय प्रणालीमा भने जति रकम छ, त्यति नै हुने भएकाले निक्षेप तानातान गर्दैमा समग्र वित्तीय प्रणालीमा असर नपर्ने उनको भनाइ छ।
‘व्याजदर उच्च हुँदा एउटा बैंकबाट अर्कोमा निक्षेप सर्ने मात्रै हो, तर समग्र वित्तीय प्रणालीमा रकम थपिने होइन, यसका लागि विकास खर्च बढाउनै पर्छ’ उनले भने।