९ मंसिर २०८१, आईतवार
चीनले आफ्ना ३ करोड ५१ लाख भन्दा बढी गरिब नागरिकलाई बार्षिक ८० हजार ७ सय ९५ रुपैंयाँ भत्ता दिईरहेको छ । भत्ता कार्यक्रमले चिनियाँ नागरिकको जीविकोपार्जनका लागि राम्रो प्रभाव पारिरहेको चीनको नागरिक मामिला मन्त्रालयले बताएको छ ।
चीनले सन् २०१८ मा शहरी तथा ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि दिँदै आएको जीविकोपार्जनका लागि निम्नतम भत्तामा सामान्य वृद्धि गरेको थियो । यद्यपि यसको प्रभाव निकै सकारात्मक देखिएको मन्त्रालयको दावी छ ।
नागरिक मामिला मन्त्री हुवाङ सुसियानले भने, “सन् २०१७ को तुलनामा सन् २०१८ मा चीन सरकारले शहरी क्षेत्रमा बस्ने नागरिकको जीविकोपार्जन भत्तामा ७.२ प्रतिशत र ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि १२.४ प्रतिशत रकम वृद्धि गरेको हो ।”
भत्ता लिँदै आएका करिब चार करोड ५० लाख निम्न आय भएका चिनियाँको अवस्थामा सुधारका लागि सरकारले उक्त कार्यक्रमलाई अघि सारेको हो । चीनको ग्रामिण क्षेत्रका जनतालाई उपलब्ध गराइएको जीविकोपार्जन भत्ता देशमा गरिबीको रेखामूनि रहेका नागरिकलाई गरिबीबाट मुक्त गर्न चाहिने माथिल्लो विन्दुमा पुगेको उनले बताए ।
सन् २०१८ को अन्त्यसम्ममा ग्रामिण क्षेत्रका करिब तीन करोड ५१ लाख जनतालाई बार्षिक करिब ७१५ अमेरिकी डलर वितरण भइरहेको छ भने बाँकी करिब एक लाख जनतालाई पनि प्रक्रिया पुर्याएर छिट्टै सो सुविधाको दायरामा ल्याइने बताइएको छ ।
नेपालले पनि बेरोजगारहरुलाई निर्वाह भत्ता दिने योजना अघि सारेको छ । पूर्णत वेरोजगार परिवारका नागरिकलाई निर्वाह भत्ता दिने कार्यक्रमलाई नेपाल सरकारले महत्वपूर्ण योजनाका रुपमा लिएको छ । यस योजना अनुसार एक सय दिनको रोजगारी दिने र त्यसो गर्न नसके प्रति परिवार एक जनालाई ५० दिनको निर्वाह भत्ता दिने सरकारी योजना छ । त्यस बाहेक सरकारले गरिब पहिचानको कार्यक्रम पनि अघि सारेको छ ।