इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडीमा आगलागी, ३० जनाको मृत्यु

होमल्याण्ड खबर

२०८३ मंसिर ११ गते, बिहीबार १०:४३ मा प्रकाशित

इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको सवारीसाधन पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार राजधानी कायरोको प्रमुख रिङरोडमा उक्त दुर्घटना भएको हो ।

गिजा प्रान्तको इम्बाबा जिल्लास्थित अल–वराक क्षेत्रमा सुरुङमाथिको सडकमा पेट्रोलियम पदार्थ बोकेको सवारीसाधन पल्टिएपछि भीषण आगलागी भएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रक अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किँदै पल्टिएको थियो ।

त्यसपछि विस्फोटसहित आगलागी भएको बताइएको छ ।

आगलागीका कारण घटनास्थलमा रहेका अन्य सवारीसाधनसमेत जलेका छन् ।

इजिप्टका सरकारी अधिकारीहरूका अनुसार दुर्घटनामा २७ वटा सवारीसाधन जलेर क्षतिग्रस्त भएका छन् ।

आगलागी नियन्त्रणमा आइसकेको छ ।

घटनाबारे सरकारी वकिलको कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलाउन मृतकका शवबाट डीएनए नमुना संकलन गर्नसमेत निर्देशन दिइएको छ ।

घटनास्थलमा स्वास्थ्य मन्त्रालयले ३९ वटा एम्बुलेन्स परिचालन गरेको थियो ।

घाइतेहरूलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि लगिएको मन्त्रालयले जनाएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

प्रधानमन्त्री मुस्तफा मदबुलीले पनि मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरूको उपचार र अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

घटनापछि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको मन्त्रालयको भनाइ छ ।