‘रामायण’ बन्यो सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म, ‘पुष्पा २’ लाई उछिन्यो

होमल्याण्ड खबर

२०८३ मंसिर ११ गते, बिहीबार १४:४३ मा प्रकाशित

रणवीर कपूर अभिनीत भारतीय फिल्म ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा उक्लिएको छ। प्रदर्शनको २१ दिनमा विश्वभरबाट १ हजार ७५५ करोड ६० लाख भारु कमाउँदै फिल्मले अल्लु अर्जुन अभिनीत ‘पुष्पा २’ लाई पछाडि पारेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले विश्वव्यापी कमाइमा ‘पुष्पा २’ को १ हजार ७४२ करोड १० लाख भारुको लाइफटाइम कलेक्सनलाई उछिनेको छ।

अब ‘रामायण’ ले प्रभास अभिनीत ‘बाहुबली २’ को रेकर्ड तोड्न ३२ करोड ४६ लाख भारु कमाउनुपर्नेछ। ‘बाहुबली २’ को विश्वव्यापी कमाइ १ हजार ७८८ करोड ६ लाख भारु छ। त्यस्तै ‘धुरन्धर २’ ले १ हजार ८१३ करोड ३९ लाख भारु कमाएको समाचारमा उल्लेख छ।

सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको शीर्ष स्थानमा भने आमिर खान अभिनीत ‘दंगल’ छ। फिल्मले विश्वभरबाट २ हजार करोड भारुभन्दा बढी कमाएको थियो।

भारतमा पहिलोपटक दैनिक कमाइ १० करोडभन्दा तल

‘रामायण’ ले प्रदर्शनमा आएको पहिलो २० दिनसम्म भारतमा दैनिक १० करोड भारुभन्दा बढी नेट कलेक्सन गरेको थियो। तर २१औँ दिनमा पहिलोपटक यसको दैनिक कमाइ १० करोड भारुभन्दा तल झरेको छ।

फिल्मले बुधबार भारतमा १५ हजार ७०० शोमार्फत ९ करोड ६० लाख भारु नेट कलेक्सन गरेको थियो। मंगलबारको १७ करोड ५० लाख भारुको तुलनामा बुधबारको कमाइ ४५.१ प्रतिशतले घटेको हो।

भारतमा फिल्मको कुल नेट कलेक्सन ९८२ करोड ५५ लाख भारु पुगेको छ। त्यस्तै भारतमा ग्रस कलेक्सन १ हजार १७३ करोड ६० लाख भारु रहेको छ। विदेशी बजारबाट २१औँ दिनमा ६ करोड भारु कमाएको फिल्मको कुल ओभरसिज ग्रस कलेक्सन ५८२ करोड भारु पुगेको छ।

२ हजार करोड बजेट, हिट हुन २ हजार ८०० करोड कमाउनुपर्ने

फिल्म व्यापार विश्लेषक सुमित कडेलका अनुसार कुनै फिल्म हिट वा फ्लप भएको निर्धारण वितरकको हिस्सामा पर्ने रकमका आधारमा गरिन्छ।

निर्माताले उच्च अदालतमा दिएको जानकारीअनुसार ‘रामायण’ को पहिलो भागको बजेट २ हजार करोड भारु रहेको छ। उक्त बजेटका आधारमा फिल्मलाई हिटको श्रेणीमा राख्न भारतमा हिन्दी संस्करणबाट मात्रै कम्तीमा १ हजार १०० करोड भारु र विश्वव्यापी रूपमा २ हजार ८०० करोड भारु कमाउनुपर्ने विश्लेषक कडेलको भनाइ छ।

को–को छन् फिल्ममा?

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ मा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्। फिल्मका निर्माता नमित मल्होत्रा हुन्। फिल्म ५ नोभेम्बर २०२६ मा प्रदर्शनमा आएको थियो।