डा. गोविन्द केसीले सरकारलाई दिए २६औँ सत्याग्रह बस्ने चेतावनी

होमल्याण्ड खबर

२०८३ मंसिर ११ गते, बिहीबार १६:२० मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले शुक्रबारसम्म सहमतिविपरीत गरिएका निर्णय नसच्याए र विगतका सम्झौता कार्यान्वयन नगरिए २६औँ सत्याग्रहसहित आन्दोलनमा उत्रिन बाध्य हुने बताएका हुन् ।

उनले २४औँ र २५औँ सत्याग्रहका क्रममा चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, स्वास्थ्य सेवामा समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका विषयमा सरकारसँग सहमति भएको स्मरण गराएका छन् ।

तर, सरकारले ती सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै उल्लङ्घन गरेको डा. केसीको आरोप छ ।

उनका अनुसार सरकारले जवाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गरेको छ । उक्त निर्णय सच्याउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनले बताएका छन् ।

विगतका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले उल्टै सहमतिको भावना कमजोर पार्ने काम गरेको भन्दै डा. केसीले असन्तुष्टि जनाएका छन् ।

सरकारले शुक्रबारसम्म आफ्ना माग सम्बोधन नगरे आफू २६औँ सत्याग्रह सुरु गर्न बाध्य हुने उनको चेतावनी छ ।