१२ मंसिर २०८१, बुधबार
अहिले नेपाल लगानी सम्मेलन, २०१९ हुने–नहुने विषय चर्चामा छ । एकातिर पर्याप्त पूर्वतयारीबिना सम्मेलन आयोजना हुन लागेको टिप्पणी भइरहेको छ । तर, आयोजकले भने लगानी सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको बताएको छ ।
लगानी बोर्डको कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनका लागि तीन साता बाँकी रहँदा सहभागीको ‘कन्फर्मेसन’ सूची बाहेक तयारीका अधिकांश काम पूरा भएको बताइएको छ ।
आयोजक उल्लेखित ४ निकायका कर्मचारी सम्मिलित सचिवालयका अनुसार सम्मेलनको मिति, स्थान, लोगो, नारा, एजेन्डा, ब्रोसर तयार भइसकेका छन् ।
यसअघि पहिचान भइसकेको लगानीका क्षेत्रका आधारमा सम्मेलनमा शोकेस हुने परियोजना छनोट पनि निर्णायक अवस्थामा पुगिसकेको छ । ती परियोजना सम्मेलनका क्रममा तत्काल डिल गर्न सकिने सम्भावित परियोजना हुन् ।
जसअनुसार प्रत्येक प्रदेशबाट २–२ वटा प्रादेशिक महत्वका परियोजना, निजी क्षेत्रले पहिचान गरेको परियोजना पनि रहेका छन् । सम्मेलनका क्रममा शोकेस हुने परियोजना वा लगानीको प्रतिबद्धता खोजिएका क्षेत्र ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, उद्योग, यातायात पूर्वाधार र कृषि रहेका छन् । सम्मेलनमा सहभागी लगानीकर्ताले यी क्षेत्रमा लगानी गर्ने अवसरबारे बुझ्न सक्नेछन् ।
लगानी सम्मेलन नेपालले गरेको नीतिगत सुधारका प्रगति लगानीकर्तासामू बुझाउन आयोजना हुन लागेको सम्मेलन हो । सम्मेलनका माध्यमबाट सरकारले सम्भावित आयोजनाको अध्ययन तथा विकासका लागि ढोका खुला गर्नेछ । यसका साथै नेपाल प्रवेश गर्न चाहने लगानीकर्ताको फिडब्याक सुन्ने र अझै आवश्यक नीतिगत सुधारको लागि सुझाव पनि मागिने छ ।
सम्मेलनका माध्यमबाट सरकारले व्यवसायीबीच सञ्चालनको प्लेटफर्म उपलब्ध गराउनेछ भने सार्वजनिक–निजी साझेदारी प्रवर्द्धन गर्नेछ । चैत १५ र १६ गते राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुन लागेको सम्मेलनको व्यवस्थापन जिम्मा इमाजिङ नेपाललाई दिइएको छ ।
सम्मेलन आयोजक सचिवालयका अनुसार सम्मेलनको अन्य तयारीसँगै नीतिगत सुधारको काम पनि अघि बढेको छ । विदेशी लगानीकर्ता आकर्षित गर्ने केही कानुन आइसकेका छन् भने केही कानून सम्मेलन अगावै संसदले अनुमोदन गर्ने क्रममा छन् । यसैगरी, विकास साझेदार तथा कुटनितिक नियकायसँग नियमित भेटघाट जारी छ । ती सबैलाई सम्मेलनबारे ब्रिफिङ दिइसकिएको छ ।
सम्मेलनका लागि आवश्यक प्रवर्द्धनात्मक भिडियो तयार हुँदै छ । यसका बाबजुद विदेशस्थित नियोग सचिवालय पनि सम्मेलनको प्रचार र प्रवर्द्धनमा लागेका छन् । उनीहरुले आफ्नो स्रोतको सक्रिय परिचालन गरि नेपालमा लगानी सम्मेलन हुँदैछ भन्ने चेतनाका लागि आफ्नो वेबसाइटको गृहपृष्ठमा लगानी सम्मेलनको फ्लायर राखेका छन् ।
यससँगै सम्भावित लगानीकर्ताको सूची पठाउने र उनीहरुलाई सम्मेलनमा सहभागिता हुन उत्प्रेरण सिर्जना गर्न विदेशस्थित कुटनीतिक नियोग सक्रिय रुपमा लागेका छन् । यसबाहेक देशबाहिर प्रचारका लागि स्वयम् अर्थमन्त्री, परराष्ट्रमन्त्री विदेश भ्रमणमा निस्किइ सम्भावित लगानीकर्तालाई लगानी सम्मेलनमा सामेल हन आह्वान गरिरहेका छन् ।
लगानी सम्मेलनका लागि नेपाल लगानी बोर्डको सहसचिव संयोजकत्वमा काम भइरहेको छ । लगानी सम्मेलनका लागि खटिएका ४ वटै निकायका कर्मचारी दैनिक १२ घण्टा काममा लागेका छन् । आफूहरु बिदामा पनि काममा खटिएको स्वयम् कर्मचारी बताउँछन् ।
सम्मेलन आयोजक सचिवालयका सदस्य सचिव विशाल सापकोटा पनि सम्मेलनका लागि आवश्यक अधिकांश काम भइसकेका कारण लगानी सम्मेलन कुनै अवस्थामा नधकेलिने बताउँछन् ।
उनले भने, “सहभागिता टुंगो लाग्ने क्रममा छ । करिब २ सय इच्छुक लगानीकर्ताले आउने कन्फर्मेसन पठाइसकेका छन् । अब कुनै हालतमा पछि हट्ने अवस्था छैन ।” यससँगै आफूहरु गत सोमबार पनि बिदाको दिन नभनी निमन्त्रणा पत्र पठाउन खटिएको उनले दाबी गरे ।
सापकोटाका अनुसार व्यवस्थापक कम्पनीसँग पनि दैनिकजसो प्रगति विवरण माग्ने गरिएको छ भने हप्ताको २ दिन नियमित छलफल हुने गरेको छ । यसका बाबजुद सम्मेलनका लागि सम्भावित लगानीकर्ताको सूची प्राप्त भइसकेको छ । तीमध्येबाट ६ सयभन्दा बढी निमन्त्रण पठाइएको छ । निमन्त्रण पठाइँदा पहिले विदेशी सम्भावित लगानीकर्तालाई चुनिएको सचिवलयले जनाएको छ । त्यसपछि गैरआवासीय नेपाली र तेस्रो प्राथमिकता आन्तरिक लगानीकर्तालाई दिइएको छ ।
सापकोटाका अनुसार लक्ष्यअनुरुप अर्थात् करिब ४ सय वटा सहभागिता हुने निश्चित भइसकेको छ । “त्यसका आधारमा करिब ३ दर्जन मुलुक सहभागी हुने पक्का देखिन्छ,” सापकोटाको दाबी छ । उनले सम्मलेनको सेडुअल र हरेक सत्रको मुख्यवक्ताको पनि टुंगो लागिसकेको जानकारी दिए ।