कीर्तिपुरमा जित सुनिश्चित बनाउँदै माओवादी

होमल्याण्ड खबर

२०८१ मंसिर १२ गते, बुधबार १२:०० मा प्रकाशित

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ ।माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । धनबहादुर महर्जनका अनुसार दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ ।