होण्डाले ल्यायो नयाँ एक्सआर १०९एल

होमल्याण्ड खबर

२०७४ माघ २३ गते, मंगलवार १२:२१ मा प्रकाशित

काठमाडौं । होण्डा नेपालले बजारमा नयाँ मोटरसाइकल एक्सआर १९०एल औपचारिक सार्वजनिक गरेको छ । नेपाली बजारमा सर्वाधिक बिक्री हुने डर्ट मोटरसाइकल एक्सआर १५०एलको सफलतापछि होेण्डाले आफ्नो अर्को उत्पादन ‘होण्डा एक्सआर १९०एल’ लाई होण्डा बिग मोटरसाइकल वर्गअन्तर्गत थपेको छ ।

यो मोटरसाइकलको सुरुवाती मूल्य ५ लाख ७० हजार रुपैयाँ तोकिएको छ । होण्डाले आफ्नो प्रसिद्ध होण्डा एक्सएल १८५ को उत्तराधिकारीका रूपमा एक्सआर १९० एललाई बजारमा ल्याएको हो । नेपालमा हालसम्म पनि होण्डा एक्सएल १८५ को प्रशंसकहरु बृहत रुपमा रहेको कुरालाई मध्यनजर गर्दै होण्डाले होण्डा एक्सआर १८५ लाई एक्सएल १८५ (१८४.५ सीसी) को आधुनिक रुपान्तरणको रुपमा उत्पादन गरेको हो । फ्यूल–इन्जेक्सन रहेको एक्सआर १९० एल नेपालको पहिलो अफ–रोड मोटरसाइकल हो । फ्यूल–इन्जेक्सन भएको यस मोटरसाइकलले इन्जिनमा चाहिने मात्रामा मात्र इन्धनको आपूर्ति गर्ने गर्दछ, जसले गर्दा यो चिसोमा पनि सजिलै स्टार्ट भई उत्कृष्ट माईलेज र पावर प्रदान गर्दछ । यो मोटरसाइकल ब्याक–अप किक स्टार्टका साथ समेत उपलब्ध छ ।

१ सय २३ किलोग्राम तौल रहेको यो मोटरसाइकल चलाउन निकै सहज छ भने यसको सुरुवाती पिक–अप पनि निकै उत्कृष्ट रहेको छ । फ्यूल इण्डिकेटरका साथ १२ लिटर फ्यूल ट्यांक रहेको यो मोटरसाइकल चलाउँदा अब चालकहरुले आफ्नो साहसिक यात्रामा इन्धनको चिन्ता गर्नु पर्ने छैन । हाई ग्राउण्ड क्लेरेन्स भएता पनि यस मोटरसाइकलको सिट भने सबै उचाइका चालकहरुका लागि उपयुक्त हुने गरी कम उचाइमा नै राखिएको छ । स्पोक्ड रिम, लंग ट्राभल सस्पेन्सन र विश्वासिलो एयर–कुल्ड इन्जिनले यसलाई सम्भवत उत्कृष्ट अफ–रोड मोटरसाइकल बनाएको दाबी कम्पनीको छ । सहज र सरल मर्मत–संभार गर्न सकिने एक्सआर १९०एललाई नेपालको जुनसुकै कुनामा पनि लान सकिने होण्डा नेपालले जनाएको छ । होन्डाका मोटरसाइकल नेपाली बजारमा ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ आधिकारिक रुपमा भित्र्याउँदै आएको छ