एनसेलबाट तीनमहिनाभित्रैमा कर असुल्न सर्वोच्चको आदेश

होमल्याण्ड खबर

२०७५ चैत्र २७ गते, बुधबार १२:१५ मा प्रकाशित

सर्वोच्च अदालतले दूरसञ्चार कम्पनी एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएको छ । मंगलबार आएको पूर्णपाठमा सर्वोच्च अदालतले एनसेल खरिदबिक्रीको लाभकर तीनमहिनाभित्र असुल गर्न ठूला करदाता कार्यालयका नाममा आदेश दिएको हो ।
सर्वोच्चले यस सम्बन्धी फैसला माघ २३ गते गरेको भए पनि पूर्णपाठ भने मंगलबार मात्रै सार्वजनिक गरेको हो ।

सर्वोच्चले कम्पनीको पुरानो स्वामित्व रहेको टेलियासोनेराबाट नभई एक्जियटा एनसेलबाट असुल गर्न भनेको छ । पूर्णपाठमा भनिएको छ, “स्वामित्व परिवर्तन भएको अवस्थामा एनसेलले सम्पत्ति निसर्ग गरेको नै मान्नुपर्ने देखियो । यस स्थितिमा सम्पत्तिको निसर्गबाट प्राप्त लाभमा कर तिर्नुपर्ने दायित्वबाट एनसेल मुक्त छ भन्न मिल्ने देखिएन ।”

ठूला करदाता कार्यालयका नाममा आदेश जारी गर्दै सर्वोच्चले लाभकर असुल नभएसम्म कम्पनीलाई आगामी दिनमा कुनै पनि लाभांश वितरण गर्न नदिन पनि भनेको छ ।