९ मंसिर २०८१, आईतवार
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा बिहिबार भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनले पराजित गरेको हो ।
मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो ।
दिल्लीका लागि शिखर धवनले ३५, अक्षर पटेलले २६, पृथ्वी शले २०, क्रिस मोरिसले ११, कागिसो रबडाले ९, अमित मिश्राले अविजित ६ तथा कप्तान श्रेयस ऐरले ३ रन बनाए ।
मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २, लाथिस मलिङ्गा, कुरनाल पान्डया र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७, क्विनटन डी ककले ३५, सुर्य कुमार यादबले २६ , हार्दिक पाण्डयले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए ।
दिल्लीका लागि कागिसो रबडाले २, अमित मिश्रा र अक्षर पटेल समान १ विकेट लिए ।
जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।