१३ मंसिर २०८१, बिहीबार
इलामका सरकारी चिया बगानमा यसपटक सिजनको पहिलो उत्पादन हुने चियापत्ती ९फस्ट फ्लस० नटिपिँदा नष्ट भएको छ । सरकारले तोकेअनुसारको ज्याला पाउनुपर्ने मागसहित चिया मजदुरको आन्दोलनका कारण पहिलो टिपाइ नटिपिँदै नष्ट भएको हो ।
महिना दिनदेखि आन्दोलनमा रहेका मजदुरको माग सुनुवाइ नहुँदा जिल्लाका सरकारी चिया बगानमा चिया टिपाइ हुन सकेको छैन । मजदुरले काम ठप्प पारेर आन्दोलनमा रहँदा पनि चियाबगान लिजमा लिएर ब्यवस्थापन गरिरहेको त्रिवेणी सांघाइ ग्रुपले अहिलेसम्म कुनै चासो देखाएको छैन ।
दैनिक ज्यालादारीको रूपमा काम गरिरहेका मजदुरले काम नगरेको महिना दिन वितिसक्यो ।
तर, सांघाइ ग्रुपले मजदुरको समस्या समाधानमा चासो नदेखाएकाले आफूहरू काममा फर्किन नपाएको भन्दै मजदुरहरू आक्रोशित भएका छन् ।
आन्दोलनका कारण चिया टिपाइ नहुँदा सांघाइ ग्रुपलाई पनि दैनिक घाटा भइरहेको छ भने बगानमा काम रोकिएपछि दैनिक ज्यालादारी मजदुरलाई पनि छाक टार्न समेत समस्या पर्न थालेको छ ।
श्रमिकहरूले श्रम ऐन, २०७४ कार्यान्वयन हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने र गत साउनदेखि वृद्धि भएको ज्याला पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनमा उत्रिएका चिया मजदुरहरूले चैत १७ गतेदेखि अनिश्चितकालिन हड्ताल सुरु गरेका छन् ।
हड्तालसँगै विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन् । झापा र इलामका चिया मजदुरको आन्दोलनका कारण सात वटा सरकारी बगान र कारखाना बन्द छन् । गुणस्तरीय चिया उत्पादन हुने यही सिजनमा लामो समयसम्म बन्द भएका कारण कारखानालाई लाखौं नोक्सानी भइरहेको छ ।
चियाको पहिलो टिपाइलाई गुणस्तरीय उत्पादनका रूपमा लिइन्छ तर यही चिया टिप्न नपाउँदा मजदुर, मालिक र ठेकेदारलाई समस्या भइरहेको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।